काठमाडौं,०३ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने निर्देशन दिएका छन्।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालयका प्रतिनिधि, परामर्शदाता र निर्माण व्यवसायीसँगको छलफलमा मन्त्री घिसिङले पुसमै काम पूरा गर्ने गरी सबै पक्ष सक्रिय भएर काम गर्नुपर्ने जोड दिएका हुन्।
जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा ठूलो क्षति भएपछि हाल संसद् भवन प्रयोगयोग्य छैन। मन्त्री घिसिङले भने, “अब बहानामा ढिलाइ हुनु हुँदैन। सबै पक्ष गम्भीर भएर परिचालित भई समयमै कार्यसम्पन्न गर्नुपर्छ।”
संसद् भवनको ठेक्का विसं २०७६ असोजमा तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी गरिएको थियो। पाँच पटक थपिएको म्याद आगामी पुसमा सकिँदैछ। हालसम्म आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ। बाँकी काममा राष्ट्रिय र प्रतिनिधिसभा हलको ‘फल्स सिलिङ’, मल्टिपरपज हलको ट्रस निर्माण, मुख्य र सहायक ‘एलटी प्यानल’, इलेक्ट्रिकल फायर फाइटिङ जस्ता कार्यहरू रहेका छन्।
मन्त्री घिसिङले आफ्नो कार्यलयअन्तर्गत अनियमितता नहुने गरी निगरानी कडा गर्न निर्देशन दिए। उनले चेतावनी दिँदै भने, “अनियमितता फेला परेमा संलग्नलाई तुरुन्तै कारबाही हुनेछ। एक रुपैयाँ पनि गलत रूपमा खर्च भयो भने त्यसको जिम्मेवारलाई छाडिने छैन। सेवा प्रवाहमा सुधार गर्न सबै जिम्मेवार बन्नुपर्छ।”



