spot_img

प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थासहित संविधान पुनरावलोकन गर्नुपर्छ : जनार्दन शर्मा

spot_img
spot_img

काठमाडौं,०३ असाेज । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थासहित संविधानको पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

संविधान जारी भएको १० वर्ष पूरा भई ११ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै शर्मा भनेका छन्, “संविधानकै मर्म अनुसार पुनरावलोकन गरी सर्वस्वीकार्य बनाउन आवश्यक छ।” उनले जनताले आफ्ना अधिकार उपभोग गर्न नपाएको र राजनीतिक पार्टी तथा सरकारी असक्षमताका कारण संविधान दिवस खण्डहरमा मनाउनुपर्ने अवस्था आएको बताए।

शर्माले ठुलो त्याग र बलिदानबाट निर्माण भएको संविधानले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशिता र सामाजिक न्यायको अवधारणा समेटेको भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताए। उनले संविधान कार्यान्वयन गर्ने संस्थाहरू पारदर्शी र बलिया बनाउनुपर्नेमा जोड दिए।

उनले भने, “थुप्रै अधिकारको बाबजुत प्रत्यक्ष कार्यकारीको शासकीय स्वरूप नहुँदा राजनीतिक अस्थिरता, अस्पष्ट आर्थिक मार्गनिर्देशन, भ्रष्टाचार र दलालीतन्त्रका कारण जनतामा निराशा छाएको छ। उक्त निराशा जेनजी आन्दोलनमार्फत अभिव्यक्त भयो।”

शर्माले वर्तमान सरकारलाई समयमै निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आवश्यक रहेको बताए। सरकार, राजनीतिक दल र आम नागरिकले पार्टी स्वार्थभन्दा माथि उठेर देशभक्त, लोकतान्त्रिक र राष्ट्रिय सुरक्षा हितमा सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

त्यस्तै, उनले भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र भौतिक क्षतिको यथाशीघ्र छानबिन र दोषीमाथि कारबाहीको माग गरे। यसैगरी, विगतमा विभिन्न ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्तिको पनि छानबिन गर्न आवश्यक भएको उनले बताए।

शर्माले अन्तमा अन्योलता र निराशा चिर्दै संविधानकै जगमा आशा र विश्वाससहित राष्ट्रिय पुनर्निर्माणमा सबैलाई जुट्न अपिल गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय