जनकपुर,०३ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गरी देशमा सुशासन स्थापित गर्नुपर्ने बताउनुभएको छ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले वर्तमान संविधान नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानीबाट आएको उल्लेख गर्दै यसले मुलुकको स्थायित्व र समावेशी विकासको आधार प्रदान गरेको स्पष्ट पार्नुभयो। उहाँले सबै वर्ग, जातजाति र समुदायलाई कानुनी समान अधिकार दिलाउन संविधानले विशेष योगदान गरेको भन्दै यसको संरक्षण आवश्यक रहेको बताउनुभयो।
सो अवसरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको अधिकार सुनिश्चित गरेको र सबैलाई समान अधिकार दिएको उल्लेख गर्नुभयो। प्रदेश सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारको दुरुपयोग नगरी मर्यादित भएर आफ्नो अधिकार प्रयोग गर्न सबैलाई आह्वान गर्नुभयो।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधानको सफल कार्यान्वयनका लागि सुशासन, शान्ति–सुरक्षा र उत्तरदायी सञ्चारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। समारोहमा विभिन्न राजनीतिक दलका नेता, सांसद, सुरक्षा निकायका प्रमुख तथा कार्यालय कर्मचारीको उपस्थिती रहेको थियो।





