काठमाडाैं,०३ असोज । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र बाल सुधार गृहमा भएको तोडफोडपछि ८ हजारभन्दा बढी कैदी अझै फरार छन्।
कारागार व्यवस्थापन विभागका अनुसार, देशभरका २८ कारागार र ९ बाल सुधार गृहबाट १४,५५५ जना कैदीबन्दी भागेका थिए। तीमध्ये ६,१७९ जना मात्र नियन्त्रणमा फर्किएका छन्। हाल ८,३७५ जना अझै बेपत्ता रहेका छन्।
विभागका तथ्यांकअनुसार, फरारमध्ये ७,७५३ जना कारागार र ६२२ जना बाल सुधार गृहका कैदीबन्दी रहेका छन्। आन्दोलनको क्रममा भाग्न खोज्दा १० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये रामेछाप कारागारका ३, धादिङ कारागारका २ र नौबस्ता बाल सुधार गृहका ५ जना छन्।
घटनाअघि देशभरका कारागारमा २९,२१२ र बाल सुधार गृहमा १,४२२ गरी कुल ३०,६३४ जना कैदीबन्दी थिए।



