बीरगन्ज,०४ असोज । बीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गर्दै नगर पुनःनिर्माणलाई प्राथमिकता दिएको छ। शनिबार सम्पन्न विशेष नगरसभाले करिब ३० करोड रुपैयाँ पुनःनिर्माणमा खर्च गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा महानगर कार्यालयसहित धेरै संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। आगजनी र तोडफोडले भौतिक सम्पत्ति नष्ट भएपछि सेवा प्रवाहमा अवरोध सिर्जना भएकाले तत्काल पुनःनिर्माण आवश्यक ठहर गरिएको हो।
संशोधित बजेटअनुसार प्रशासनिक भवन निर्माण, सवारीसाधन र उपकरण खरिद, कार्यालय सामग्री व्यवस्थापन, मर्मतसम्भार र अन्य पूर्वाधार पुनःस्थापनामा खर्च हुने महानगरले जनाएको छ।
विशेष नगरसभाले आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागी सहादत प्राप्त गरेका वीरगञ्ज–१२ का असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ।
महानगरले यस निर्णयमार्फत नगर पुनःनिर्माण, संरचना पुनःस्थापना र प्रशासनिक क्षमता अभिवृद्धिलाई गति दिने प्रतिबद्धता जनाएको छ।





