काठमाडौं,०४ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकको बिग्रिएको व्यवस्था सुधार गर्न भ्रष्ट नेतालाई हटाउनुपर्नेमा जोड दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित आजपाको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले हालको प्रणाली भ्रष्ट र असफल भएको भन्दै सरकारमात्रै होइन, आवश्यकता परे संविधान र व्यवस्था समेत परिमार्जन गर्नुपर्ने बताए।
साहले भने, “बिग्रिएको व्यवस्था भत्काउँदै भ्रष्ट नेतालाई हटाए बिना मुलुक बन्दैन। भ्रष्टाचार, कुशासन र अनियमितताका कारण राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र धरासायी भएका छन्।” उनले दुई वर्षअघि आजपाले तेस्रो जनआन्दोलनको घोषणा गरेको स्मरण गर्दै, हालको जेन–जी पुस्ताले जनविद्रोह गर्नु सकारात्मक रहेको पनि उल्लेख गरे।
उनले संसद, सर्वोच्च अदालत र सिंहदरबारमा षड्यन्त्रपूर्ण आक्रमण भइरहेको आरोप लगाउँदै उच्चस्तरीय छानबिनको माग गरे। त्यस्तै, परराष्ट्र र रक्षा मन्त्रालयको नेतृत्वविहीनतालाई प्रश्न गर्दै सुरक्षा निकाय र नेतृत्वहरूको भूमिकाको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।




