महोत्तरी,०५ असोज । बर्दीबास–३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ९७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबास र इलाका प्रहरी कार्यालय बर्दीबासको संयुक्त टोलीले गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा।५ ख १८९८ नम्बरको हायस गाडी रोक्दा चालक नजिकैको सीटमा बसेका २४ वर्षीय रोहित महतोको साथबाट लागुऔषध फेला परेको हो।
लागुऔषध नियन्त्रण ब्युरो बर्दीबासका प्रमुख सरोज अधिकारीका अनुसार, महतोले खैरो हाफ कट्टु भित्र लुकाइसेतो प्लास्टिक प्याकिङमा राखिएको ब्राउन सुगर छिपाएको थिए। डिजिटल तराजुमा तौल गर्दा कुल १०२.२५० ग्राम, शुद्ध तौल ९७.१६० ग्राम रहेको पाइएको छ। अधिकारीले यो बर्दीबास क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो ब्राउन सुगर बरामद भएको बताए।
पक्राउ परेका महतोसहित बरामद पदार्थ इलाका प्रहरी कार्यालय बर्दीबासमा आवश्यक कारबाहीका लागि बुझाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
यसअघि भदौ ८ र १७ गते पनि बीपी राजमार्गमा ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिइएको थियो।





