काठमाडौं,५ असोज । ललितपुरको नक्खु कारागारबाट फरार भएका सन्तबहादुर तामाङले आफ्नो श्रीमती मनीषा घेवा तामाङको हत्या गरेको आरोप लागेको छ।
पुनौती नगरपालिका–१२, गागलमा तीन दिनदेखि बेपत्ता रहेकी ३० वर्षीया मनीषाको शव घर नजिकैको बारीमा पुरिएको अवस्थामा फेला परेको छ। वडाध्यक्ष जयराम केसीका अनुसार मनीषाको चप्पल बारीमा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अहिले शव उत्खनन् गरी घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेको छ।
बलात्कारको आरोपमा चार वर्षदेखि जेलमा रहेका सन्तबहादुर भदौ २४ गते फरार भएका थिए। सोही समयमा जेलबाट फरार अन्य कैदीसहित सन्तबहादुरले रास्वपा सभापति रवि लामिछानेसँग जेलबाट भागेका थिए। लामिछाने जेल फर्किएका छन्, तर सन्तबहादुर अझै फरार छन्। स्थानीयका अनुसार, जेलबाट फर्केपछि सन्तबहादुर र उनकी श्रीमतीबीच झगडा भएको थियो।
प्रहरी घटनाबारे थप अनुसन्धान गर्दैछ।



