काठमाडौं,०५ असाेज । काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ।
मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत एक वर्षदेखि रोकिएको वितरण प्रक्रिया पुनः सुरु हुने जानकारी दिएका हुन्। पहिलो चरणमा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराइने महानगरले जनाएको छ।
मेयर साहका अनुसार पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा रहेका दुर्गम क्षेत्रमा प्राथमिकता दिइएको हो। उनले लेखेका छन्, “स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो। दुर्गम भूभागमा कसैले स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो। यो अभियानको सुरुवात मात्र हो।”




