बीरगन्ज,०५ असाेज । भदौ २४ गते राति पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका कैदी किशोरमध्ये ५० जना अझै फरार रहेका छन्।
सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेका अनुसार भागेकामध्ये केहीलाई पक्राउ गरिएको भए पनि अझै धेरै जना सम्पर्कमा आएका छैनन्। “फरार रहेका ५० जना बालबन्दी अभिभावकमार्फत खोजी भइरहेको छ, चाँडै नियन्त्रणमा आउने विश्वास छ,” काफ्लेले बताए।
उक्त रात सुधारगृहमा १४२ जना बालबन्दी थिए। घटनापछि दुई जनालाई सिरहामा पक्राउ गरिएको छ भने हालसम्म १७ जनालाई नियन्त्रणमा ल्याइएको सुधारगृहले जनाएको छ। अहिले सुधारगृहमा ९० जना रहेका छन्।
सुधारगृह तोडफोड प्रकरणपछि भागेकाहरूको खोजी तीव्र पारिएको तर ठूलो संख्यामा अझै फरार रहनुले सुरक्षामाथि प्रश्न उठेको जनाइएको छ।




