काठमाडौं,०६ असोज । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्वको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दुर्गा देवीको पूजा आराधना थालिएको छ।
आज बिहान ९ः१३ बजे शुभ साइतमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गर्दै जमरा रोपिएको छ। जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले विजयादशमीका दिन यसलाई टीका–प्रसादसँगै ग्रहण गर्ने परम्परा छ।
नवरात्रभर देवी दुर्गाका नौ रूप — शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म —को पूजा गरिन्छ। यस क्रममा विभिन्न शक्तिपीठ तथा मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा पनि आजैदेखि विशेष पूजा थालिएको छ।
धर्मशास्त्रविद्हरूका अनुसार बडादशैं असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यो पर्वलाई परिवार पुनर्मिलनको अवसरका रूपमा समेत लिने गरिन्छ, जसअन्तर्गत रोजगारी, अध्ययन वा काम विशेषले परदेशमा रहेका मानिस दशैंका लागि घर फर्किन्छन्।
यस वर्ष विजयादशमीको टीकाको शुभ साइत असोज १६ गते बिहान ११ः५३ मा रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ।




