बारा,०६ असोज । जेनजी आन्दोलनका क्रममा कार्यालयमा भीषण क्षति पुगेपछि निजगढ नगरपालिकाले आफ्ना अत्यावश्यक सेवा पार्किङ क्षेत्रमै सुरु गरेको छ।
भदौ २३ गते कार्यालयमा आगजनी र तोडफोड हुँदा शिक्षा, स्वास्थ्य, कृषि, राजस्व, आर्थिक प्रशासनलगायत शाखाका अभिलेख, फाइल, कम्प्युटर, औजारदेखि पुराना कागजातसम्म जलेर नष्ट भएका थिए। भवनको संरचना समेत प्रयोगयोग्य नरहेपछि शुक्रबारदेखि पार्किङमै टेबल–कुर्सी राखेर सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले जानकारी दिए।
उनका अनुसार २० वर्ष पुराना अभिलेखसमेत नियोजित ढंगले जलाइएको देखिन्छ, तर कसले र किन यस्तो गर्यो भन्ने प्रष्ट छैन। हाल राजस्वलगायत केही सेवा सञ्चालनको तयारी भए पनि अन्य शाखा पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको उनले बताए।
नगरपालिकामा सबैभन्दा धेरै क्षति स्वास्थ्य शाखामा पुगेको छ। ९८ प्रकारका निःशुल्क औषधि, ३५ थरी सर्जिकल सामग्री र अन्य आयुर्वेदिक औषधि जलेर करिब ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए। यसले स्थानीय स्वास्थ्य संस्था र गरिब–विपन्न जनतामा औषधि अभाव निम्त्याउने चिन्ता बढेको छ।
यसैबीच, नगरपालिकाले यस वर्षका लागि स्वीकृत करिब १ अर्ब रुपैयाँ बजेट पनि प्रभावित हुने भएको छ। भवन र वडा कार्यालय पुनर्निर्माणमा ठुलो हिस्सा खर्चनुपर्ने देखिएकाले अन्य विकास योजनामा कटौती गर्नुपर्ने अवस्था आएको प्रशासकीय अधिकृत अर्यालले बताए।



