बीरगन्ज,०६ असोज । मधेश प्रदेशका ३८ पालिकाका करिब ११ हजार ४ सय कर्मचारीले यस वर्ष दसैँमा तलब र भत्ता पाउन सक्ने देखिँदैन। चालु आर्थिक वर्षको बजेट अझै पेस हुन नसकेको कारण उनीहरूको दसैँ खल्लो हुने भएको हो।
प्रदेशका अधिकांश पालिकामा अब पाँच दिन मात्रै कार्यालय खुल्ने र त्यसपछि दसैँको बिदा सुरु हुने भएकाले बजेट पास भएको भए पनि तलब निकासा हुने समय नपुग्ने राजविराज नगरपालिकाका लेखा अधिकृत शत्रुधन दासले जानकारी दिए।
चालु आर्थिक वर्षको तेस्रो महिना असोज ५ गतेसम्म यी ३८ पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट असार १० गतेभित्र पेस गरी असार मसान्तभित्र पारित गरिनुपर्ने कानुनी प्रावधान भए पनि आन्तरिक विवाद र समस्या कारण अहिलेसम्म पेस हुन सकेको छैन।
मधेश प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ पालिका छन् । तीमध्ये ९८ वटा पालिकाले बजेट ल्याइसकेका छन् भने एक उपमहानगरपालिका, १८ नगरपालिका र १९ गाउँपालिकाले अहिलेसम्म बजेट ल्याउन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलका अनुुसार सिराहाको १७ मध्ये तीन, सर्लाहीको २० मध्ये पाँच, रौतहटको १८ मध्ये पाँच, बाराको १६ मध्ये चार र पर्साको १४ मध्ये पाँच पालिकाले बजेट पेस गर्न सकेका छैनन् ।



