बीरगन्ज,०६ असोज । हिन्दुहरुको महान् पर्व वडादसैं सोमबार (६ असोज) देखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दसैं १५ दिनसम्म मनाइन्छ। पर्वको पहिलो दिन घटस्थापनाको अवसरमा घर–घरमा विधिपूर्वक कलश, दियो, गणेश स्थापना गरी पूजा आरम्भ गरिन्छ।
घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलशमा दुर्गा देवीको आराधना गरी नवरात्रभर विधिपूर्वक पूजा र पाठ गर्ने परम्परा छ। दुर्गा देवीका नौ रूपको पूजा नवदुर्गा पर्व अनुसार प्रत्येक दिन अलग–अलग गरी गरिन्छ। यस पर्वमा असुरी प्रवृत्ति माथि दैवी शक्तिको विजयको प्रतीक मानिन्छ।
वीरगन्जको गहवामाई र वीर्तामाई मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लाग्न थालेको छ। नवरात्रभर भक्तजनले देवी स्तोत्र, चण्डी पाठ र विभिन्न पूजा आराधना गरेर आशीर्वाद प्राप्त गर्ने परम्परा छ। बडादसैंको अन्तिम दिन, असोज १९ गते विजयादशमीमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरी देवीको विसर्जन गरिने छ।
दसैं र नवरात्र पर्व कुनै जात वा धर्म विशेषको नभई समस्त मानव जातिले असत्य माथि सत्य र आसुरी प्रवृत्तिमा दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने धार्मिक परम्परा रहेको धर्मशास्त्रविद् बताउँछन्।




