रौतहट,०६ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रौतहटमा ठूलो जनधनको क्षति भएको छ। सार्वजनिक गरिएको तथ्यांकअनुसार, सरकारी र निजी सम्पत्ति गरी करिब ४४ करोड रुपैयाँभन्दा बढी क्षति पुगेको छ।
आन्दोलनका क्रममा भएको झडपमा २४ जना घाइते भएका छन्। तीमध्ये १९ जना प्रहरी र ५ जना सर्वसाधारण रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। चन्द्रनिगाहपुरमा सर्वाधिक भिडन्त हुँदा १२१ राउन्ड अश्रुग्याँस प्रहार, ७१ राउन्ड प्रत्यक्ष फायर र करिब सय राउन्ड गोली जलेको विवरणमा उल्लेख छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सबैभन्दा ठूलो क्षति भएको छ। प्रहरीका ११ वटा सवारीसाधन पूर्णरूपमा जलेका छन् भने ५ आंशिक क्षति भएका छन्। साथै हेलमेट, लाठी, शिल्ड, हतकडीदेखि कपडासम्म जलेर नष्ट भएका छन्। यसको मूल्य करिब ६३ लाख रुपैयाँभन्दा बढी भएको अनुमान गरिएको छ।
सरकारी कार्यालयमा क्षति
विभिन्न सरकारी निकायमा करिब ३६ करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको छ।
गौर नगरपालिका — ६४ लाख
चन्द्रपुर नगरपालिका — ३ करोड
सडक डिभिजन, चन्द्रनिगाहपुर — ६ करोड
वन डिभिजन, चन्द्रनिगाहपुर — २ करोड ५० लाख
मौलापुर नगरपालिका — ५ करोड
अन्य विभिन्न निकाय — करोडौँ रुपैयाँको क्षति
निजी सम्पत्तिमा पनि ठूलो क्षति
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवप्रसाद तिमिल्सिना, प्रदेश सांसद युवराज भट्टराई लगायत जनप्रतिनिधिहरूको घर, सवारीसाधन र अन्य सम्पत्ति तोडफोड तथा आगजनी हुँदा निजी क्षेत्रको क्षति मात्रै करिब ८ करोड ४२ लाख रुपैयाँभन्दा बढी भएको प्रहरीले जनाएको छ।




