काठमाडौं,०६ असोज । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरुवा गर्ने सरकारको निर्णयबारे असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार मन्त्रिपरिषद्ले उनलाई प्राधिकरणको प्रमुख पदबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो।
शाक्यले सरकारले सकारात्मक उद्देश्यले आयोगमा पठाएको भए त्यहाँबाट पनि सहयोग गर्न आफू तयार रहेको बताए। तर, बिना कारण वा प्रतिसोधका आधारमा सरुवा गरिएको भए त्यसअनुसार अघि बढ्ने चेतावनी दिए।
“सरकारले मेरो विशेषज्ञता प्रयोग गर्न चाह्यो भने म आयोगमै बसेर सहयोग गर्छु। तर, प्रतिसोध साँधिएको हो भने त्यसैअनुसार अघि बढ्छु,” शाक्यले संक्षिप्त प्रतिक्रिया दिएका छन्।
दुईपटक प्राधिकरणमा नियुक्ति भए पनि काम गर्ने अवसर नपाएको गुनासो गर्दै उनले कानुनी लडाइँमा हाल जाने कुनै योजना नभएको स्पष्ट पारे।




