रौतहट,०६ असोज । दुर्गा भगवती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ६१ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिकीकरणसँगै गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जानकारी दिए।
यस वर्ष गाउँपालिकाले धुवामुक्त अभियान, खानेपानी र सिँचाइका लागि बोरिङ तथा हैण्डपाइप जडान, विपद् व्यवस्थापनलगायतका कामलाई प्राथमिकता दिएको छ। साथै, सुशासन र पारदर्शिता कायम गर्न गाउँपालिकाको हरेक गतिविधि वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रतिबद्धतासमेत गरिएको छ।
गाउँपालिकाले यसअघि वडा नं. १, २ र ५ मा ग्यास चुल्हो वितरण गरिसकेको छ भने बाँकी वडा नं. ४ र ५ मा यस वर्ष वितरण गर्ने योजना बनाइएको छ। वडा नं. ३ मा कृषि विद्युतीकरण, स्वच्छ खानेपानी र छोरी संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखिएको वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले बताए।
सबै ५ वडालाई समान रूपमा प्रतिवडा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। दशैंअघि नै कर्मचारी र शिक्षकलाई साउन–भदौको तलब तथा पर्व खर्च उपलब्ध गराइने तयारी भएको प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिए।
यससँगै रौतहटका १८ स्थानीय तहमध्ये दुर्गा भगवती गाउँपालिकाले पनि बजेट ल्याइसकेको छ भने अहिलेसम्म देवाही गोनाही नगरपालिकाले मात्र बजेट पेस गर्न बाँकी छ।




