बीरगन्ज ,०६ असोज । विजयादशमी नजिकिँदै गर्दा पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा जुवातास खेल्ने प्रवृत्ति तीव्र बनेको छ। ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिका क्षेत्रमा रातभर तास र जुवाको हुरी–दंगामा स्थानीय त्रस्त बनेका छन्।
स्थानीयका अनुसार गोप्य स्थानमा जम्मा हुने जुवाडेहरू रातभर तास खेल्ने मात्र होइन, होहल्ला, अपशब्द र झगडा गर्ने गर्छन्। यसले वरपरका बासिन्दा, विशेषगरी साना बच्चाहरूलाई अत्यधिक प्रभावित पारेको छ।
“रातभरि मोटरसाइकलको आवाज र गालीगलौज सुन्नुपर्छ, बच्चाहरू सुत्न पाउँदैनन्,” पर्सागढी–३ का एक स्थानीयले गुनासो गरे।
युवा पुस्तादेखि बयस्कसम्म तासमा रमाउने क्रम बढेसँगै तलब, बोनस वा ऋणका पैसासमेत जुवामा खर्च गर्ने प्रवृत्ति बढेको छ। यसले परिवारभित्र कलह र घरेलु हिंसासम्मको स्थिति सिर्जना गरेको स्थानीय महिलाहरू बताउँछन्। कतिपय अवस्थामा ठूलो रकम हारेपछि ऋणको बोझ थेग्न नसकेर आत्महत्यासम्मका घटनाहरू सार्वजनिक भएका छन्।
प्रहरीमाथि प्रश्नचिन्ह
जुवातास खुलेआम सञ्चालन हुँदा पनि प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीय समाजसेवी र बुद्धिजीवीहरूले प्रश्न उठाएका छन्। आरोप छ, जुवा सञ्चालन गर्ने गिरोहले प्रहरीलाई नियमित नजराना बुझाउने गरेका कारण कारबाही रोकिएको छ।
“प्रहरीलाई थाहा छ, तर कारबाही हुँदैन। यसले प्रहरी संरक्षणमा जुवा चलिरहेको पुष्टि गर्छ,” एक स्थानीय समाजसेवीले नाम नखुलाउने सर्तमा भने।
सामाजिक संघ–संस्था र सचेतनावादीहरूले चाडपर्वका दिनमा जुवातास नियन्त्रणका लागि विशेष गस्ती टोली खटाउन र कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनीहरूको चेतावनी छ—जुवाको नियन्त्रण तुरुन्त नभए सामाजिक सन्तुलन भत्किनुका साथै अपराध दर बढ्ने खतरा छ।





