काठमाडौं,०६ असोज । हालै युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिसामा कडाइ गरेपछि मलेसिया, कतार र साउदी अरबले पनि त्यस्तै कदम चाल्न थालेका छन्।
जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट भिसा रोक्दै वर्किङ भिसामा समेत कडाइ गरेको थियो। त्यसको प्रभाव अब अन्य प्रमुख श्रम गन्तव्य मुलुकहरूमा देखिन थालेको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङका अनुसार पछिल्ला दिनमा मलेसिया, कतार र साउदीले सहज रूपमा भिसा दिन छाडेका छन्। “अनेकन कागजात, तत्कालको प्रहरी रिपोर्ट मागिरहेका छन्, कतिपयको भिसा त रिजेक्टसमेत भइरहेको छ,” उनले बताए।
यूएईले भिजिट भिसा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसा लिने श्रमिकका लागि प्रहरी रिपोर्ट अनिवार्य बनाइएको छ। नयाँ भिसा आवेदन अधिकांश अस्वीकृत भइरहेका छन्। यसले दैनिक ५ सयभन्दा बढी यूएई जाने नेपाली श्रमिकलाई असर गरेको व्यवसायीहरूको दाबी छ।
यस्तै, मलेसिया, कतार र साउदीतर्फ समेत भिसा अस्वीकृत हुने दर बढेको छ। कागजातमा थप जटिलता सिर्जना गरिएको र सुरक्षा कारण देखाएर कडाइ गरिएको व्यवसायीहरूको भनाइ छ।
पछिल्लो स्थितिबारे छलफल गर्न परराष्ट्र मन्त्रालयले भोलि राजदूतावासहरूसँग बैठक बोलाएको छ। मन्त्रालय स्रोतका अनुसार प्रमुख श्रम गन्तव्य मुलुकहरूले नेपालको आन्तरिक सुरक्षा अवस्थालाई कारण देखाउँदै भिसामा कडाइ गरेको हुनसक्ने आकलन गरिएको छ।
गत आर्थिक वर्षमै सबैभन्दा बढी नेपाली यूएई, साउदी, कतार र मलेसिया गएका थिए। चालु वर्षको दुई महिनामै ५० हजार नेपाली यूएई गइसकेका छन्। तर ३० भदौदेखि भिसा रोकिनुका कारण नयाँ श्रमिक अन्योलमा परेका छन्।




