बीरगन्ज,०६ असोज । पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–१४ स्थित चिनिमिल आवास क्षेत्र (पर्यटन विकास कार्यालय अगाडि) बाट सोमबार दिउँसो एक पुरुषलाई उद्धार गरिएको छ।
अन्दाजी ३५ वर्षको देखिने ती पुरुषले आफ्नो नाम, थर र ठेगाना स्पष्ट रूपमा भन्न नसकेको मानवसेवा आश्रमले जनाएको छ। उद्धार कार्यमा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष तथा आश्रमका अभिभावक परिवार संयोजक हरि गौतम, आश्रमका केन्द्रीय सदस्य बिबेक महतो, प्रहरी चौकी गण्डकका प्रहरी हवल्दार लाल बाबु प्रसाद कुशवाहा तथा आश्रमका स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको थियो।
उद्धारपछि आश्रममा ल्याइएका ती पुरुषलाई नुहाइधुवाइ तथा सरसफाइ गराइएको छ। उनको स्वास्थ्य परीक्षण र आवश्यक उपचार आश्रमका नियमित चिकित्सक डा. भरत गोईको निगरानीमा गरिने आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले समाजमा असहाय, बेसाहारा र उपचारविहीन अवस्थामा रहेका व्यक्तिहरूलाई उद्धार गरी उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणमा सहयोग गर्दै आएको छ।





