काठमाडौं,०६ असाेज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले छठ पर्वपछि व्यवस्था परिवर्तनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ। पार्टीले जनदबाब अभियानमार्फत निर्वाचनमा पनि सहभागी हुने निर्णय गरेको हो।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा असोज ४ र ५ गते बसेको केन्द्रीय कमिटी तथा पदाधिकारी बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता चन्द्रभुषण साहले पार्टी अब नयाँ अभियानसहित अघि बढ्ने बताए। उनका अनुसार दसैं, तिहार र छठ पर्वसम्म पार्टीले प्रदेश, जिल्ला र स्थानीय संरचना पुनर्गठन, बैठक र शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन गर्नेछ।
बैठकले प्रदेश कमिटीमा नेतृत्व हेरफेर गर्दै नयाँ इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष तोकेको छ। उदाहरणका लागि, कोशी प्रदेशमा तिलक थापा मगर इन्चार्ज, जुरीलाल मोची सहइन्चार्ज र खगेन्द्र भण्डारी अध्यक्ष तोकिएका छन्। यस्तै, मधेसमा त्रिभुवन साह इन्चार्ज, श्रीचन मुखिया सहइन्चार्ज र उमेश कुशवाहा अध्यक्ष तोकिएका छन्। अन्य प्रदेशमा पनि जिम्मेवारी फेरबदल गरिएको छ।
‘देशको अवस्था बदल्न व्यवस्था बदलौँ, राष्ट्रिय स्वाधीनता बचाउन सङ्घर्ष गरौँ’ भन्ने नारासहित पार्टी अध्यक्ष प्रभु साहले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। आजपाले संविधान संशोधनका लागि १६ बुँदे प्रस्तावसमेत सार्वजनिक गर्ने निर्णय गरेको छ, जसमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था प्रमुख मागका रूपमा राखिएको छ।
बैठकले जेनजी आन्दोलनका क्रममा भएको विद्यार्थीको मृत्यु, सम्पदा र धरोहर तोडफोडजस्ता घटनाप्रति दुःख व्यक्त गर्दै तत्कालीन सरकार र सुरक्षा निकायलाई जिम्मेवार ठहर गर्नुपर्ने माग गरेको छ।
त्यस्तै, विचार र सिद्धान्त मिल्ने व्यक्ति, समूह तथा दलसँग एकता र सहकार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ। यसका लागि सहअध्यक्ष तिलक थापा मगरको नेतृत्वमा चन्द्रभुषण साह, सुभाष साह, विजय यादव र राम विष्ट सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ।



