काठमाडौं,०७ असोज । आश्विन शुक्ल द्वितीयाका अवसरमा आज नवरात्रको दोस्रो दिन देशभर ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ। घटस्थापनासँगै सुरु भएको नौ दिनको दुर्गा पूजा उत्सवअन्तर्गत आज भक्तजनहरूले संयम, साधना र आध्यात्मिक समर्पणको प्रतीक ब्रह्मचारिणी देवीलाई आह्वान गरी पूजाअर्चना गरिरहेका छन्।
धार्मिक विश्वासअनुसार, नौ दिनसम्म विधिपूर्वक देवी आराधना गरेमा शक्ति, विद्या र ऐश्वर्य प्राप्त हुने मान्यता छ। यसअघि सोमबार घटस्थापना गर्दै शैलपुत्री देवीको पूजा गरिएको थियो।
नवरात्र सुरु भएलगत्तै देशभरका शक्तिपीठ र देवीस्थानहरूमा भक्तजनको भीड देखिएको छ। वीरगञ्जस्थित गहवामाई मन्दिरदेखि काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, धनुषा र कञ्चनपुरलगायतका मन्दिरहरूमा भक्तजनहरूको चहलपहल बढेको धार्मिक समितिहरूले जनाएका छन्।



