spot_img

दसैंयात्रु बढेपछि अन्तर्राष्ट्रिय उडानमा चाप

spot_img
spot_img

काठमाडौं,०७ असोज । बडादसैं नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ। विशेषगरी अन्तर्राष्ट्रिय उडानमा यात्रु चाप तीव्र बनेको भए पनि आन्तरिकतर्फ भने सामान्य आवागमन भइरहेको विमानस्थलले जनाएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार हाल नेपाल फर्किने यात्रुको संख्या उल्लेख्य बढेको छ। यसै कारण कतिपय विदेशी वायुसेवा कम्पनीले नियमित उडानका साथै अतिरिक्त तथा चार्टर्ड फ्लाइटसमेत सञ्चालन गरिरहेका छन्।

शनिबार मात्र अन्तर्राष्ट्रिय खण्डमा १०६ उडान भएका थिए, जसमा ५४ आगमन र ५२ प्रस्थान थिए। ती उडानमार्फत ८ हजार २९ यात्रु नेपाल भित्रिएका थिए। उता, आन्तरिकतर्फ २२२ उडानमार्फत ६ हजार ८७५ यात्रु काठमाडौँबाट बाहिरिएका र ४ हजार ६५ यात्रु भित्रिएका थिए।

आइतबार अन्तर्राष्ट्रिय उडानमार्फत ८ हजार ५०० यात्रु नेपाल आएका छन् भने ६ हजार ८०० बाहिरिएका छन्। त्यस्तै, आन्तरिकतर्फ २२९ उडानमार्फत ७ हजार ८८७ यात्रु बाहिरिएका र ५ हजार ५०५ काठमाडौँ फर्किएका छन्।

हाल दैनिक ३०० भन्दा बढी उडान भइरहेका छन्। यसमध्ये करिब २५० आन्तरिक र १०० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गरेका छन्। आन्तरिकतर्फ २१ वायुसेवा र १२ हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् भने अन्तर्राष्ट्रिय खण्डमा ३ नेपालीसहित ३० एयरलाइन्सले उडान भर्दै आएका छन्।

प्रवक्ता शेर्पाले विजयादशमी नजिकिँदै जाँदा आन्तरिकतर्फ पनि यात्रु चाप बढ्ने अनुमान गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय