spot_img

फिरौती मागेर १५ वर्षीय अभिषेकको हत्या, आफन्त र छिमेकी संलग्न

spot_img
spot_img

सिरहा,०७ असोज । सिरहामा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले आफन्तसहित आठ जना छिमेकीलाई पक्राउ गरेको छ।

सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा अभिषेक आइतबार राति बेपत्ता भएका थिए। परिवारले खोजी गर्दा नभेटिएपछि सोमबार बिहान अभिषेकको आमाको मोबाइलमा फिरौतीको सन्देश आएको थियो। अपहरणकारीले पाँच करोड रुपैयाँ नदिए जीवन जोखिममा पार्ने धम्कीसमेत दिएका थिए।

तर मंगलबार बिहान घर नजिकैको आँप बगैंचामा अभिषेकको शव फेला परेपछि गाउँ शोकमा डुबेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार शव फेला परेपछि अनुसन्धान तीव्र पारिएको हो।

“शव गाउँ नजिकै फेला परेकोले घटनामा पीडितका आफन्त वा नजिकैका छिमेकी संलग्न हुन सक्ने देखिएको छ,” उनले बताए। अनुसन्धानकै क्रममा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ तर अनुसन्धान प्रभावित नहोस् भनेर उनीहरूको नाम खुलाइएको छैन।

अपहरणकारीले पठाएको हिन्दी सन्देशमा, पाँच करोड नदिए हत्या गर्ने चेतावनी दिइएको थियो। सन्देशमा २५ गतेसम्म पैसा नआएमा मारेर फ्याल्ने उल्लेख गरिएको थियो। तर धम्की दिएकै दिन बालकको हत्या भएको देखिन्छ।

यो घटनाले सिरहामा त्रास फैलिएको छ। गाउँलेले अपराधीलाई कडा सजाय दिन माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय