रौतहट,०७ असोज । रौतहटको वृन्दावन नगरपालिका–३ विश्रामपुरका १३ वर्षीय रोशन यादव सोमबार बिहान बागमती नदीमा डुबेर बेपत्ता भएका छन्। घटस्थापनाको अवसरमा कलश शोभायात्रामा सहभागी भएका बेला उनी खोलामा नुहाउने क्रममा गहिरो खाडलमा परेर बेपत्ता भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
रोशन, स्थानीय गजेन्द्र यादवका छोरा हुन्। बिहान हनुमान चौकस्थित दुर्गा पूजाको लागि गरिएको कलश यात्रामा सहभागी भएपछि उनी साथीहरूसँग नदीमा नुहाउन गएका थिए। तर, नुहाउने क्रममा खोलामा तानिँदा फिर्ता आउन नसकेका प्रहरीको प्रारम्भिक जानकारी छ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, समनपुर, विश्रामपुर र धरमपुरका प्रहरी टोली तथा सशस्त्र प्रहरी बल समनपुर क्याम्पको सहकार्यमा स्थानीय बासिन्दाले खोजी कार्य थालेका छन्। तर, २४ घण्टा बितिसक्दा पनि उनलाई फेला पार्न सकिएको छैन।
“रमौली घाटदेखि धरमपुर घाटसम्म व्यापक खोजी गरियो, तर कुनै सुराक लागेन। अँध्यारो भएपछि खोजी रोकिएको थियो, बिहानैदेखि पुनः अभियान सुरु गरेका छौँ,” इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले बताए।
दसैँको घटस्थापनाको दिन नजिकैको नदी वा खोला–घाटबाट जल ल्याएर पूजा गर्ने परम्परा छ। यही क्रममा भएको दुर्घटनाले स्थानीय स्तब्ध भएका छन्।





