बीरगन्ज,०७ असोज । बीरगन्जस्थित प्रतिष्ठित सामुदायिक संस्था हरिखेतान बहुमुखी क्याम्पस आन्तरिक विवादका कारण गम्भीर संकटमा फसेको छ। करिब १४० प्राध्यापक तथा कर्मचारी दशैं नजिकिँदा पनि तलबविहीन हुँदा असन्तोष बढेको छ भने पठन–पाठनसमेत प्रभावित हुन थालेको छ।
क्याम्पस प्रमुख किशोरी रायका अनुसार सहमति गरेर बैंक खाता सञ्चालनको प्रयास भइरहेको छ। तर, सञ्चालकहरूको अत्यधिक हस्तक्षेपले क्याम्पसका दैनिक गतिविधि अवरुद्ध हुने अवस्था आएको उनको भनाइ छ।
हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत भए पनि विवादका कारण विद्यार्थी संख्या घट्दै गएको बताइएको छ। त्यसमाथि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकमा रहेको करिब ७ करोड रुपैयाँ निकाली निजी लक्ष्मी सनराइज बैंकमा राखिएको विषयले थप शंका र विवाद उत्पन्न गराएको छ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि क्याम्पसका गतिविधिमा चासो देखाउँदै सिसी क्यामेरा खरिद–जडान र नाला निर्माणमा अनियमितता भएको आरोपमा प्रारम्भिक छानबिन सुरु गरेको छ।
सञ्चालक सुनिल कुमार खेतानले भने कुनै अनियमितता नभएको दाबी गरेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले कर्मचारी र प्रशासनबीच सहमति गरेर समस्या समाधान गर्न निर्देशन दिएका छन् भने श्रम कार्यालय प्रमुख बलराम कुशवाहाले श्रमिकको अधिकार सुनिश्चित गर्दै खाता सञ्चालनका लागि पहल भइरहेको जानकारी दिएका छन्।
तर, क्याम्पस प्रमुख रायले आफू आएपछि कुनै भ्रष्टाचार नभएको र केही समूहले नियोजित रूपमा संस्थालाई बदनाम गर्ने प्रयास गरेको दाबी गरेका छन्।





