विराटनगर,०७ असोज । सामान्य पैसाको विवादले विराटनगरमा भयावह रूप लिँदा एक महिलामाथि एसिड प्रहार भएको छ। विराटनगर महानगरपालिका–९ धोबियारीमा सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले आफ्नै भाउजु, २२ वर्षीया रागिनी देवी साहमाथि एसिड प्रहार गरेका हुन्।
गम्भीर घाइते भएकी रागिनीलाई तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अहिले सुधारोन्मुख छ।
पारिवारिक स्रोतका अनुसार, श्रवणले दाजु सन्तोष साहकी श्रीमतीसँग ३ हजार रुपैयाँ मागेका थिए। रागिनीले दुई हजार रुपैयाँ दिएकी थिइन् तर बाँकी एक हजार रुपैयाँ नपाएपछि श्रवण आक्रोशित बनेका थिए। सोही विवादकै बीचमा उनले भाउजूमाथि एसिड प्रहार गरेका हुन्।
घटना हुनुभन्दा केही समयअघि श्रवणले दाजु सन्तोषलाई समेत ज्यान मार्ने धम्की दिएको बताइएको छ। घटनाको समयमा सन्तोष घर नजिकैको भाँडाकुँडा पसलमा रहेका थिए।
आक्रमणपछि श्रवण साह फरार छन्। मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ र आरोपीको खोजी कार्य तीव्र पारिएको छ। यस घटनाले सानो पारिवारिक विवादले समेत कसरी ठूलो अपराधमा रूपान्तरण हुन सक्ने गम्भीर प्रश्न खडा गरेको छ।




