काठमाडौं,०७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व सहमहामन्त्री सुमना श्रेष्ठलाई उनको नयाँ यात्राका लागि शुभकामना दिँदै सम्मानजनक बिदाइ गरेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठले पार्टीमा पुर्याएको योगदानको कदर गर्दै उनको भविष्यको मार्गका लागि शुभकामना दिएको हो । गत हप्ता पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा छोडेकी श्रेष्ठबारे बैठकमा छलफल भएको थियो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, रास्वपाले उनको निर्णयलाई स्वतन्त्रतापूर्वक लिएको र कुनै पनि नकारात्मक टिप्पणी नगरिएको बताए । सुमनाजीको बारेमा छलफल भयो, उहाँले पार्टीलाई अहिलेसम्म योगदान गर्नुभयो त्यसको सम्मान गरिएको छ,’ झाले भने, ‘आफ्नो निर्णय लिन उहाँ स्वतन्त्र हुनुहुन्छ। उहाँहरू बारेमा कसैले पनि नकारात्मक टिप्पणी गरेको छैन। सहयात्रा टुङ्गिएको छ।’
प्रवक्ता झाले श्रेष्ठले पार्टीको एजेन्डा नछाडेको र उनीबाट धेरै कुरा सिक्न पाएको पनि बताए । बैठकमा केही नेताहरूले श्रेष्ठलाई पार्टीमा फर्काउने विषयमा मत राखेको भए पनि उनको नयाँ यात्राको सम्मान गर्दै यो अध्यायको अन्त्य भएको देखिएको छ ।



