रौतहट,०८ असोज । रौतहटको बंकुल बजारमा सीमावर्ती भारतीय बजार घोडासहनबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा एक तस्करलाई मोटरसाइकलसहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ।
भारत–नेपाल सीमा नजिक घोडासहन अन्तर्गत पर्ने लक्ष्मीनिया टोलामा एसएसबी ७१वीं बटालियन न्यू कोरैयाले गरेको कारबाहीमा नशालु औषधिसहित एक तस्कर पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत कोरैया गाउँ, झरोखर पञ्चायतका राजु प्रसाद कुशवाहा रहेका छन्। उनलाई नशालु प्रतिबन्धित औषधसहित एसएसबीले नियन्त्रणमा लिएको हो।
एसएसबीका अनुसार कुशवाहा घोडासहनतर्फबाट नशालु औषधि ल्याई बंकुलस्थित राजवीर नाम गरेका व्यक्तिलाई पुर्याउने क्रममा पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि झरोखर थानामा बुझाइएको छ।
उनको मोटरसाइकलको डिकीबाट नशालु क्याप्सुल ट्रामाडोल ४० क्याप्सुल बरामद गरिएको एसएसबीले जनाएको छ ।




