बीरगन्ज,०९ असोज । नारायणी अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती बढ्दै गएको भन्दै सूचना अधिकारी डा. उदय नारायण सिंहले सामाजिक सञ्जालमार्फत गम्भीर ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार, अस्पतालको आकस्मिक विभागमा भौतिक पूर्वाधार, जनशक्ति र सेवा सुविधाको चरम अभाव छ। हाल २५ सैयाको आकस्मिक वार्डमा दैनिक १२०–१५० बिरामी आउने गर्छन् तर बेड अभावले बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था छ।
त्यस्तै, एक सिफ्टमा १–२ चिकित्सक र २–३ स्वास्थ्यकर्मी मात्रै ड्युटीमा रहने हुँदा सेवा प्रभावित हुने गरेको उनले बताए। “प्रभावकारी उपचारका लागि कम्तीमा ३ चिकित्सक र ६ पैरामेडिक्स चाहिन्छ,” डा. सिंहले भने।
उनले चिकित्सक र कर्मचारीहरूको तलब तथा सुविधा न्यून भएकाले धेरैलाई बाहिर काम गर्न बाध्य भएको पनि उल्लेख गरे। आवास सुविधा नहुँदा थप समस्या भएको उनले बताए।
हालै भाइरल भएको भिडियोबारे स्पष्ट पार्दै डा. सिंहले त्यो दृश्य माइनर OT (साना शल्यक्रिया कक्ष) को भएको जनाए। उनले कर्मचारी अभावकै कारण सबै बिरामीलाई समयमा सेवा दिन नसकिएको बताए।
“चुनौती धेरै छन्, समाधान कठिन छ। तर, नयाँ सरकारबाट केही आशा छ,” डा. सिंहले भने। बिरामीको बढ्दो चाप, सीमित पूर्वाधार र जनशक्ति अभावले नारायणी अस्पतालको सेवा गुणस्तरमा गम्भीर प्रश्न उठेको भन्दै सम्बन्धित निकायलाई दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।



