वीरगन्ज,०९ असोज । वीरगन्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी (आईसीपी) र सुक्खा बन्दरगाहमा १७९ वटा चारपाङ्ग्रे सवारीसाधन भन्सार पासको पर्खाइमा रोकिएका छन्।
भन्सार प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार आईसीपीमा ७५ र सुक्खा बन्दरगाहमा १०४ सवारीसाधन रहेका छन्। चाडपर्व नजिकिँदै गर्दा आयातकर्ताले आवश्यक प्रक्रिया अघि बढाइरहेकाले गाडी क्रमशः पास हुँदै जाने उनले बताए। सुक्खा बन्दरगाहमा रहेका करिब २० सवारीसाधनको भन्सार प्रक्रिया अघि बढिसकेको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै वीरगञ्ज नाकाबाट सात अर्ब १६ लाख रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा करिब एक अर्ब ७५ करोड बढी हो। भन्सार कार्यालयले चाडपर्व नजिकिँदै गर्दा जाँचपास प्रक्रिया अझ तीव्र पारिने जनाएको छ।



