काठमाडौँ,०९ असाेज । ‘जेन–जी’ आन्दोलनका क्रममा देशभरका कारागार र प्रहरी हिरासत तोडफोड भएपछि भागेका कैदीबन्दीमध्ये अझै पनि ६ हजार २ सय जना फरार रहेका छन्। फरारमध्ये करिब १ हजार विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार १४ हजारभन्दा बढी कैदी र थुनुवा २४ भदौमा भागेका थिए। तीमध्ये हालसम्म करिब ७ हजार ८ सयजना पक्राउ परेका छन्। भाग्नेहरूमध्ये हत्या, बलात्कार, तस्करी, भ्रष्टाचारदेखि चर्चित ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ सम्मका अभियुक्त रहेका छन्।
फरारमध्ये चीन, भारत, पाकिस्तान र बंगलादेशसहितका विदेशी नागरिक पनि छन्। सीमा पारिने सम्भावना बढेकाले नेपाल–भारत खुला सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको छ।
२४ भदौमा भएको तोडफोडमा २८ कारागार, बालसुधार गृह र डेढ सयभन्दा बढी प्रहरी हिरासत प्रभावित भएका थिए। सो क्रममा प्रहरी ब्यारेकसमेतबाट इन्सास, एसएलआर र पिस्तोलसहित १२ सयभन्दा बढी हतियार र करिब १ लाख राउन्ड गोली लुटिएको प्रहरीले जनाएको छ।
सुरक्षा निकायले भागेकाहरूले सशस्त्र समूह निर्माण गर्ने जोखिम औंल्याउँदै नियन्त्रण अभियान तीव्र पारेको छ। यसैबीच, यूएई, कतार र मलेसियालगायत मुलुकले नेपालमा बढ्दो सुरक्षा अस्थिरतालाई कारण देखाउँदै भिजिट तथा वर्क भिसामा कडाइ गर्न थालेका छन्।



