spot_img

संविधानको रक्षा गर्न बालेन–हर्क मिल्नुस् : बाबुराम भट्टराई

spot_img
spot_img

काठमाडौं,०९ असोज । नयाँ शक्ति नेपालका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह, हर्क साम्पाङसहितका नयाँ शक्तिलाई मिल्न सुझाव दिएका छन् । जेनजी आन्दोलनको म्यान्डेड अनुसार वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउनुपर्ने उनको जोड छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, गत निर्वाचनमा उदय हुनु भएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जुन नयाँ पुस्ता आगाडि आएको छ, तपाईंहरू एक ठाउँमा आउने अथवा सहकार्य गर्ने वातावरण तपाईंहरूले बनाउनुपर्छ ।’

उनले थप भने, ‘सकेसम्म मिल्नेहरू जतिले खास एजेन्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने, त्यो खास एजेन्डा भनेको के हो भने अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ त्यसमा टेक्ने । योभन्दा पछाडि फर्कने होइन । यसमा टेकेर कति थप्न सकिन्छ थप्ने ।’

भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधारस्तम्भ भन्दै त्यसलाई साझा विन्दु मानेर वैकल्पिक शक्तिहरू सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘कथंकदाचित एक ठाउँमा आउन सकिन्न भने सहकार्य गरेर, मोर्चा बनाएर, अल्टरनेटिभ एलाइन्स गरेर पनि जान सकिन्छ,’ उनले भने ।

उनले कांग्रेस, एमाले, माओवादीलाई ‘थोत्रा’ पार्टीको संज्ञा दिए । ती पार्टी सच्चिने सम्भावना नरहेको बताउँदै उनले भने, ‘सँगसँगै मेरो आग्रह– पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन् । कांग्रेस, एमाले, माओवादी सच्चिने सम्भावना देख्दिनँ । टाउकैसम्म कुहिएर बसेको त्यो शक्ति छ त्यसको रुपान्तरणको सम्भावना म देख्दिनँ ।’

ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका युवाहरूलाई विद्रोह गर्न पनि उनले आह्वान गरे । ‘ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका साथीहरूले पनि विद्रोह गरेर फेरि वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ,’ डा. भट्टराईले भने, ‘त्यसो हुन सक्यो भने छिटो नै तपाईंहरूले चाहेजस्तो शासकीय सुधारमा परिवर्तन ल्याएर निर्वाचन तोकिएकै समयमा हुनेछ ।’

भट्टराईले वैकल्पिक युवा शक्तिलाई आफूले साथ दिने प्रतिबद्धता पनि जनाए । ‘यो वैकल्पिक नयाँ शक्तिहरूको, उदयीमान शक्तिहरूको एलायन्स र त्यसमा पुराना शक्तिहरूबाट विद्रोह गरेर आउने तपाईंहरूलाई साथ र सहयोग म दिन्छु,’ उनले भने । पार्टीको अध्यक्ष पद त्यागे पनि राजनीतिबाट अलग नभएको उनले बताए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय