जनकपुर,१० असोज । धनुषामा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र घटनास्थलमै निधन भएका हुन्। घाइते कमला नगरपालिका–३ लगमाका १७ वर्षीय राहुल महतो जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्।
प्रहरीका अनुसार राति करिब साढे १० बजेतिर कमला नगरपालिका–२ मा पर्ने खोक्साहा पुल नजिक भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। तीनै जना लगमा बजारमा भइरहेको झिझिया नाच हेर्न जाँदै थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



