काठमाडौँ,१० असोज । नेकपा माओवादी केन्द्रको जारी सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्तावलाई मधेसका बहुमत केन्द्रीय सदस्यहरूले बलियो समर्थन गरेका छन् ।
प्रज्ञा भवनमा भइरहेको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटन गरी महाधिवेशनमा जाने प्रस्ताव राखेका थिए । उनले वर्तमान परिस्थितिको जटिलता र संवेदनशीलतालाई औँल्याउँदै वैज्ञानिक विधि र प्रक्रियाबाट मात्र नेतृत्व हस्तान्तरण हुने र टीका लगाएर नेतृत्व निर्माण नहुने स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई मातृका यादव, युवराज भट्टराई, अजय शंकर नायक, राजन पौडेल लगायत मधेस क्षेत्रका बहुसङ्ख्यक सदस्यसहित ४१ जना केन्द्रीय सदस्यले खुलेर समर्थन जनाएका छन् । मधेस पक्षले देश संकटमा परेको यस्तो संवेदनशील समयमा नेतृत्वलाई घेराबन्दी गर्न खोज्नु नै गलत रहेको ठहर गर्दै अध्यक्ष प्रचण्डको निरन्तरताको पक्षमा आफ्नो स्पष्ट मत दिएको छ ।
यता, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनलाई भने विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, टेकबहादुर बलम्पखी सहित १० जना सदस्यले मात्र समर्थन जनाएका छन् । श्रेष्ठले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्ने र अध्यक्ष प्रचण्डले पद छोड्नुपर्ने दाबी गरेका थिए ।
बैठकमा प्रस्तुत तीनवटै प्रतिवेदन (प्रचण्ड, श्रेष्ठ र शर्माको) माथि छलफल हुँदा अशोक जैसवाल र महेन्द्र पासवानले कसैको पक्षमा नलागी मध्यमार्गी धारणा राखेका छन् । यसका साथै, रहबर अन्सारी, उमेश यादव, अशोक मण्डल, रुबी कर्ण लगायत १३ जना केन्द्रीय सदस्य बैठकमा अनुपस्थित रहेका छन् । मधेस पक्षको यो बलियो समर्थनले केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डको विशेष महाधिवेशनको प्रस्तावलाई थप बल पुगेको देखिएको छ।





