बीरगन्ज,१० असाेज । स्ट्यानफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको विश्वका “शीर्ष २ प्रतिशत वैज्ञानिक” (Top 2% Scientists) सूचीको २०२५ संस्करणमा बीरगन्ज महानगरपालिका–२९ मुसैलीका क्यान्सर अनुसन्धानकर्ता डा. माधव प्रसाद यादवको नाम पनि समावेश भएको छ।
यो सूची प्रतिष्ठित प्रकाशन संस्था एल्सेवियर मार्फत प्रमाणित गरिएको हो। अनुसन्धान प्रभाव (research impact) र उद्धरण उत्कृष्टता (citation excellence) को आधारमा तयार हुने यो सूचीमा यसपटक विभिन्न विषयका अग्रणी वैज्ञानिकहरूलाई समेटिएको छ।
डा. यादव हाल नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) मा कार्यरत छन्। एआइआइएमएसका मात्रै ५६ वैज्ञानिकसहित भारतभरका ८० जना वैज्ञानिक यो सूचीमा परेका छन्।
यो उपलब्धि आफ्नो जीवनकै ठूलो सम्मान भएको भन्दै डा. यादवले भने, “विश्वका अग्रणी वैज्ञानिकहरूमाझ नाम समावेश हुनु मेरो लागि गर्वको कुरा हो। यसले मलाई अझ प्रभावकारी अनुसन्धान र नवप्रवर्तनमा अघि बढ्न प्रेरणा दिएको छ।”



