spot_img

अभिषेक सिंहकाे हत्या प्रकरण : ट्याक्टर चलाउन नसिकाएको निहुँमा हत्या

spot_img
spot_img

जनकपुर,१० असाेज । सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा १५ वर्षीय अभिषेक सिंहको हत्या प्रकरणमा चकित पार्ने खुलासा भएको छ। प्रहरी अनुसन्धानअनुसार, उनलाई आफ्नै आफन्तले “ट्याक्टर चलाउन नसिकाएको” कारण योजनाबद्ध तरिकाले हत्या गरेको पाइएको छ।

असोज ५ गतेदेखि बेपत्ता रहेका अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा फेला परेको थियो। अनुसन्धानमा उनका हजुरबुबा नाताका विन्देश्वर सिंहका १७ वर्षीय छोरा पङ्कज सिंह मुख्य अभियुक्तका रूपमा बाहिर आएका छन्।

तालिमप्राप्त कुकुर र संकलित प्रमाणका आधारमा पङ्कजको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। सोही क्रममा नियन्त्रणमा लिइएका आठ जनामध्ये पङ्कजले अपराध स्वीकार गरेका छन्। उनको बयानअनुसार हत्या गम्छाले घाँटी थिचेर गरिएको र शवलाई ड्रममा राखी खेतमा खाल्डो खनेर पुरिएको खुलेको छ।

घटनापछि पङ्कजले कसैलाई शंका नहोस् भनेर आफैं खोजीमा लागेको नाटक गरेका थिए। उनले मृतककी आमालाई इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण सन्देश पठाएको पनि प्रहरीले जनाएको छ। पछि वर्षाले माटो बगाउँदा शव देखिन थालेपछि पङ्कजले शव निकाली आँप बगैँचामा फ्यालेका थिए।

अभिषेक आफ्नी आमा रेखा सिंहका एक मात्र छोरा थिए। उनका बुबा करिब १० वर्षअघि करेन्ट लागेर ज्यान गुमाएका थिए। परिवारमा अब ११ वर्षीया बहिनी मात्र बाँकी छिन्। घटनापछि आमा अचेत अवस्थामा छिन् भने गाउँ शोक र आक्रोशमा डुबेको छ।

प्रहरीका अनुसार पङ्कजले हत्या एक्लैले गरेको दाबी गरे पनि अन्य संलग्नता हुन सक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) थप अनुसन्धान गरिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय