भक्तपुर,१० असोज । भक्तपुरका चिउरा व्यवसायीहरूले यस वर्ष चिउराको माग गत वर्षको तुलनामा करिब ५० प्रतिशतले घटेको बताएका छन्। व्यवसायीहरूको अनुमान अनुसार जेनजी आन्दोलनले मागमा कमी ल्याएको हुनसक्छ।
चिउरा परम्परागत दसैँ परिकारको रूपमा महत्त्वपूर्ण मानिन्छ। व्यवसायी दिनेशप्रसाद काफ्लेका अनुसार, बजारमा माग घट्दा पनि उत्पादन स्थल अर्थात चिउरा मिलहरूमा सिधै ग्राहकको उपस्थिति बढेको छ। स्थानीय उपभोक्ताहरू गुणस्तरीय र ताजा चिउरा मिलमै किन्ने प्रवृत्ति देखिएका छन्।
उपभोक्ता रामशरण ढकालका अनुसार, पसलमा पाइने चिउरा प्रायः पुरानो हुने र कहिलेकाहीँ फिक्का हुने हुँदा उनले प्रत्येक वर्ष मिलमै ताजा चिउरा किन्ने गरेको बताए। अर्का उपभोक्ता कमलप्रकाश वनले भने मिलमा पाइने चिउराको मूल्य बजारभन्दा सस्तो र गुणस्तर उच्च भएकोले आर्थिक रूपमा पनि सहज भएको बताए।
विशेषगरी सहरमा चिउराको खपत उच्च छ। दसैँ–तिहारमा मासु, तरकारी, दही, दूध वा केरा जस्ता परिकारसँग चिउरा खाने परम्परा रहेको छ।




