काठमाडौं,११ असोज । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ११७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता गरेको छ। यससँगै ३१५ किमि प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता पूरा भएको छ।
आशिष–बोज्लर संयुक्त उपक्रमलाई प्रदान गरिएको ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको छ। सम्झौताअनुसार ४०० केभी क्षमताको उक्त प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन कार्य गरिनेछ।
यो लाइन काठमाडौंस्थित लप्सीफेदी सबस्टेसनबाट नुवाकोटको रातमाटे सबस्टेसन हुँदै मकवानपुरको नयाँ हेटौंडा सबस्टेसनसम्म पुग्नेछ।
शुक्रबार काठमाडौंमा आयोजित समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिष–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा एमसीसी र एमसीएको पदाधिकारीहरू पनि उपस्थित थिए।



