काठमाडौं, ११ असोज । विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका छन्। संसद् सचिवालयका सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक तथा सचेतकले गाडी फिर्ता गरेका हुन् ।
विभिन्न दलका प्रतिनिधिहरूले गाडी फिर्ता गरेका भए पनि कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी सिंहदरवारमा भदौ २४ गते लागेको आगलागीमा जलेको थियो। सरकारले मितव्ययिता अपनाउने लक्ष्यअनुसार पूर्व राजनीतिक पदाधिकारीहरूका गाडी फिर्ता गर्ने अभियान जारी राखेको छ।
संसद् सचिवालयले पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष लगायतको गाडी फिर्ताका लागि पनि पहल गरिरहेको जनाएको छ।




