बीरगन्ज,११ असाेज । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आन्तरिक राजस्व कार्यालय बीरगन्जमा आगजनी गर्दा करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। यो क्षति भवन बाहेकका सामग्री मात्र हो।
कार्यालयका सूचना अधिकृत रामेश्वरकुमार मिश्रका अनुसार आगजनीले भुइँतल्लाको सेवा शाखा पूर्णरूपमा नष्ट भएको छ भने संकलन शाखा आंशिक क्षतिग्रस्त बनेको छ। पहिलो तलाको कर परीक्षण ‘क’ शाखा र प्रमुखको कार्यकक्ष समेत प्रभावित भएका छन्।
उनका अनुसार कार्यालयमा रहेका धेरै कम्प्युटरका हार्ड डिस्क र र्याम जलेका वा चोरी भएका छन्। “संकलन शाखा, सेवा शाखा, कर शाखा, प्रमुखको कार्यकक्षदेखि गोप्य शाखासम्म आगजनी वा चोरीबाट ठूलो क्षति भएको छ,” मिश्रले बताए।
आगजनी र चोरीका कारण २ देखि ५ करोडसम्म कारोबार गर्ने सेवाग्राहीका फाइलहरू र अनलाइन रेकर्डसमेत नष्ट भएका छन्। कतिपय कागजात जानाजानी रोजीरोजी खोजेर लगिएको पनि भेटिएको उनको दाबी छ। “यो काम साधारण भीडको मात्र होइन, जान्ने व्यक्तिहरूले गरेको देखिन्छ,” मिश्रले भने।




