काठमाडौं,११ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कठोर शब्दमा आक्रमण गर्दै उनको हठ, घमण्ड र अहंकारकै कारण मुलुक र एमाले दुवै संकटमा परेको आरोप लगाएका छन्।
सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीले आयोजना गरेको बैठक तथा चाडपर्व शुभकामना कार्यक्रममा बोल्दै साहले भने, “ओलीको अहंकारले मुलुक जलेको छ। एमाले पनि डुबेको छ। अब सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनु ओलीकै लागि उचित हुन्छ।”
उनले एमालेका वृद्ध नेताहरूलाई पनि स्थायी रूपमा राजनीति छोड्न आग्रह गर्दै “गुण्डुमा गुण्डा भेला गर्ने भन्दा इमानदार आत्मसमिक्षा” गर्न सुझाव दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीसम्बन्धी प्रश्न उठाउँदै साहले देशको माया नगरी व्यक्तिगत स्वार्थमा रमाएको आरोप लगाए। साथै, नयाँ पासपोर्टको विषयमा शंका व्यक्त गर्दै नेताहरूको अवैध सम्पत्ति र भ्रष्टाचारबारे तथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिनुपर्ने बताए।
उनले हालको संविधान र व्यवस्थाले समस्याको समाधान गर्न नसक्ने दाबी गर्दै अन्तरिम संविधान र सरकारमार्फत मात्रै निकास सम्भव रहेको धारणा राखे। षड्यन्त्र हुन सक्छ। यस्तो खेलमा परे देशको अस्तित्वै मेटिन सक्छ, त्यसैले हामी सजग हुनुपर्छ।”
साहले सहिद परिवारको प्रतिनिधित्व सरकारमा सुनिश्चित गर्नुपर्ने, नेताहरूले विदेशतिर सम्पत्ति सार्ने प्रचलन रोक्न कडा कदम चाल्नुपर्ने र जनआन्दोलन नै अन्तिम विकल्प बन्न सक्ने संकेत पनि दिए।
नेपाल सेनाको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै उनले “मन्त्रालयस्तरमै सेनाको अस्वस्थ हस्तक्षेप बढ्दै गएको” आरोप लगाए र सरकारले जनविद्रोहलाई कलंकित नगर्न चेतावनी दिए। कार्यक्रममा उनले उपस्थित नेताहरू र कार्यकर्तालाई आगामी राजनीतिक घटनाक्रमबारे सचेत रहन र तयारी अवस्थामा बस्न निर्देशन दिएका थिए।




