जनकपुर,११ असोज । जेनजी आन्दोलनपश्चात पहिलोपटक गृहनगर धनुषा पुगेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले शनिबार आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न स्थलहरूको अवलोकन गरेका छन्।
जनकपुरधाम पुगेका निधिले सुरुवातमा धनौजी गाउँपालिकामा गएर पूर्व गाउँपालिका अध्यक्ष बद्री सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि उनले आन्दोलनका क्रममा क्षति पुगेको मधेस प्रदेशसभा भवनलगायतका संरचनाहरू निरीक्षण गरेका हुन्।
निधिले जनकपुरधाममा आगलागी र तोडफोडबाट प्रभावित नेपाली कांग्रेस जिल्ला कार्यसमिति कार्यालय, मधेस प्रदेश कार्यालय, कांग्रेस नेता एवं पूर्वमन्त्री महेन्द्र यादवको घर, एमाले नेता एवं पूर्वमन्त्री रघुवीर महासेठको निवास, एमाले नेता दिपेन्द्र ठाकुर र कांग्रेस नेता रामकृष्ण यादवको घरलगायत स्थलहरू पनि अवलोकन गरेका छन्।
जनकपुरधाम मिल्स एरियास्थित आफ्नै निवासमा केही समय बिताएपछि नेता निधि आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।



