काठमाडौं,१२ असोज । नौ दिनसम्म विशेष पूजा–आराधनासहित मनाइने नवरात्र महोत्सवको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको विशेष पूजा भइरहेको छ।
धार्मिक विश्वासअनुसार, ऋषि कात्यायनको तपस्याबाट उत्पन्न भएकी सिंहवाहिनी कात्यायनी देवीलाई महिषासुर दैत्यवधकी नायिका मानिन्छ। उनी चार हात भएकी छन्– एक हातमा तरवार, अर्कोमा कमलपुष्प, बाँकी दुई हातमा अभय र वरद मुद्रा प्रदान गरिरहेकी हुन्छिन्।
दुर्गा सप्तशती र देवीभागवत महापुराणमा वर्णन भएअनुसार, कात्यायनीको आराधनाले संकट नाश हुने र भक्तजनको मनोकामना पूरा हुने विश्वास रहिआएको छ।
आज देशभरका दशैंघर, मठ–मन्दिर र शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड देखिएको छ। घटस्थापनामा राखिएको जमरा अर्पण गर्ने, चण्डी पाठ गर्ने र देवीपूजा गर्ने परम्परा निरन्तर भइरहेको छ।



