काठमाडौं,१२ असोज । देशभर मनसुनी वायु कमजोर भए पनि स्थानीय वायुको प्रभावका कारण आज देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्छ भने बाँकी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। त्यसमध्ये कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले सम्भावित वर्षाका कारण पहिरो, बाढी र यातायातमा अवरोध जस्ता जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।





