सिरहा,१२ असोज । सशस्त्र प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्रोत नखुलेको सात लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय ओमप्रकाश साह रहेका छन्।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गरेका साहलाई शंका लागेर जाँच गर्दा नगद फेला परेको हो। रकमको स्रोतबारे सोध्दा उनले कुनै वैध प्रमाण प्रस्तुत गर्न नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।
उक्त रकम अवैध हुण्डी कारोबारमार्फत आएको हुनसक्ने आशंका प्रहरीको छ। सीमावर्ती क्षेत्रमा यस्ता अवैध वित्तीय कारोबार रोक्न निगरानी बढाइएको भण्डारीले बताए। पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा बुझाइएको छ।




