काठमाडौं,१२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद खुलेर सतहमा आएको छ। पूर्वराज्यमन्त्री तथा नेतृ डा. तोसिमा कार्कीले पार्टी संस्थापन समूहमाथि साइबर बुलिङ र मिडिया ट्रायल सञ्चालन गरेको आरोप लगाउँदै प्रत्यक्ष चुनौती दिएकी छन्।
कार्कीले फेसबुकमार्फत आफूले पार्टी सुदृढीकरण र समयानुकूल रुपान्तरणका विषयमा जिम्मेवार बहस सुरु गर्दा उल्टै अफवाह र प्रचारमार्फत बदनाम गर्न खोजिएको गुनासो गरेकी छन्। “खुला विशेष महाधिवेशन फेस गर्न तयार होस्,” भन्दै उनले नेतृत्वलाई खुलेआम चुनौती दिएकी छन्।
उनका अनुसार कहिले आफूले राजीनामा दिन लागेको हल्ला, त कहिले पार्टीलाई सफल बनाउन प्रस्तुत गरेको पत्रलाई तोडमोड गरी “सभापतिको विकल्प खोज्यो” भनेर अफवाह फैलाइएको छ। पार्टीभित्रैबाट आफूलाई निकाल्नुपर्छ भन्ने भ्रम सिर्जना गर्न खोजिएको उनको आरोप छ।
“साइबर बुली र मिडिया ट्रायल गर्ने र गर्न लाउने अनि त्यो सब हेरेर बस्नेहरूको भण्डाफोर गर्न नपरोस्,” भन्दै उनले संस्थापन पक्षलाई प्रहार गरेकी छन्।कार्कीले लाखौँ कार्यकर्ता र शुभेच्छुकको विश्वासका आधारमा पाएको जिम्मेवारी निभाउन आफूसँग साहस रहेको स्पष्ट पार्दै, प्रोपागाण्डा र हेपाहा व्यवहारबाट डराउने अवस्था नरहेको बताएकी छन्।
यससँगै रास्वपाभित्र आन्तरिक शक्ति संघर्ष चर्किंदै गएको देखिएको छ।




