काठमाडौं,१२ असाेज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडादशैं, नेपाल सम्बत, तिहार र छठ जस्ता चाडपर्वको लामो विदामा पनि अस्पताल सेवाहरू नियमित सञ्चालनमा राख्न निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै, चाडपर्वका दिनहरूमा उपचार सेवामा अवरोध नआओस् भनेर देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पतालहरू तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आंशिक रूपमा भए पनि सेवा सुचारु राख्न आग्रह गरेको हो।
निर्देशनअनुसार अत्यावश्यक सेवा, आकस्मिक उपचार तथा शल्यक्रिया ९अपरेशन० जस्ता सेवा सधैंझैं निरन्तर सञ्चालन हुनेछन्। मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति तथा स्रोत साधनको पूर्व तयारी गरी सेवा नरोकिने वातावरण बनाउन आग्रह गरेको छ।
भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा घाइते भई उपचाररत व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मन्त्रालयले ती घटनाका बेला सेवा पुर्याउने स्वास्थ्य संस्थाहरूको योगदानप्रति आभार प्रकट गरेको छ। मन्त्रालयले आउँदो चाडपर्वका समयमा पनि अस्पतालहरूले निरन्तर सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्दै, यो कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग अपेक्षा गरेको छ।




