सप्तरी,१२ असोज १२। सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै स्थानीयवासीले शनिबारदेखि गाउँपालिका कार्यालयअगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
स्थानीयले गाउँपालिका सञ्चालन गर्न जनप्रतिनिधि असक्षम भएको आरोप लगाउँदै “अध्यक्ष राजीनामा दे”, “सुशासन कायम गर”, “भ्रष्टाचार बन्द गर”, “सरकारी गाडी फिर्ता गर”जस्ता नारा लगाएर विरोध जनाएका हुन्। केही प्रदर्शनकारीले टायर जलाएर आक्रोश पोखेका थिए।
बेथिति र विसंगति विरुद्ध संघर्ष समितिको अध्यक्षतामा बसेको शनिबारको बैठकले धर्नाको निर्णय गरेको थियो। समितिका अध्यक्ष मिलन कुमार चौधरीले जनप्रतिनिधि र कर्मचारी दुवै भ्रष्टाचारमा संलग्न भएको भन्दै तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे।
उनका अनुसार दशैंजस्तो चाडपर्वमा समेत कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आएकाले जनप्रतिनिधिहरू असक्षम भएको प्रमाणित भएको छ। “गाउँपालिकामा कामभन्दा बढी भ्रष्टाचारको खेल चलिरहेको छ, त्यसैले राजीनामा नभएसम्म आन्दोलन जारी रहन्छ,” चौधरीले भने।
आन्दोलनमा स्थानीय विभिन्न राजनीतिक दलका कार्यकर्ता, पूर्व जनप्रतिनिधि, जेनजी पुस्ता तथा सरोकारवाला नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको छ।
यस विषयमा प्रतिक्रिया लिन गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरीलाई सम्पर्क गर्दा उहाँले फोन उठाउनुभएन।





