काठमाडौं,१३ असोज । अर्थ मन्त्रालयले नागरिकलाई ठूलो परिमाणको नगद घरमा भण्डारण नगर्न र सकेसम्म डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेको छ।
मन्त्रालयले सोमबार जारी गरेको सूचनामा वैध आम्दानीलाई सुरक्षित राख्न कानूनी रोकटोक नभए पनि स्रोत नखुलेको रकम लुकाएर राख्ने प्रवृत्तिलाई रोक्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आवश्यक रहेको जनाएको छ।
हाल सम्पत्ति शुद्धीकरण विभागले घर वा अन्य स्थानमा लुकाइएको ठूला रकमबारे अनुसन्धान गरिरहेको मन्त्रालयको भनाइ छ। यसै कारण सम्पत्ति शुद्धीकरण नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सबै नागरिकलाई नगदभन्दा विद्युतीय कारोबारलाई प्राथमिकता दिन आह्वान गरिएको हो।
मन्त्रालयले डिजिटल प्रणाली अपनाउँदा कारोबार सुरक्षित, पारदर्शी र छरितो हुने भएकाले यसले मुलुकको वित्तीय अनुशासनमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।




